भक्तपुर टौमडीका ४१ बर्षीय राजेश दिदियाको जीवन कथा सिनेमाको एउटा प्लट जस्तै लाग्छ । कक्षा ६ मा पढ्दा ११ बर्षकै उमेरमा उनका दुवै खल्तीमा लागुपदार्थका वोतल हुन्थे । उनी क्यारियरको रुपमा प्रयोग भए । त्ययसको केही समयपछि उनले लागुपदार्थ प्रयोग गर्न थाले । उनी नराम्ररी कुलतमा फसे । जीवनको उर्वर १२ बर्ष लागुपदार्थको नशामा डुवेका उनी अचानक तैरिए । अहिले उनको नशा फेरिएको छ । उनी आफुजस्तै कुलतको दलदलमा फसेका यूवालाई त्यसबाट कसरी उम्काउने भन्ने अभियानमा जुटेका छन् ।
सानै उमेरमा कुलतमा फसेका उनले कुलतबाट उम्कीन थुप्रै सघर्ष गर्नु पर्यो । उनले नशा छाड्न त चाहे तर कसैले उनलाई उपचार गर्न मानेनन् । ‘त्यति बेला ‘बिग्रिएको भक्तपुरे केटो सुध्रिन्न’ भन्ने गलत मान्यता कतिपयमा थियो । यहि क्रममा भक्तपुरकै एकजना दाईले ‘ल सुध्रिन्छस भन्ने मौका दिन्छु’ भनेपछि आफु उपचारको बाटोमा लागेको उनले बताए ।
उनले खोलेको संस्थामा उपचार गर्न आउनेलाई सुरुमा दिनभरी काउन्सील गर्ने र साझमा पठाउने गरे । तर कतिपयले रात पनि बस्नु पर्ने आफ्नो बाध्यता सुनाए । कुलतमा फसेका किसानका छोरासंग उपचारको लागी पर्याप्त पैशा नहुने गरेको उनले देखे । त्यसैले उनले उनीहरुको लागी खेती गरेर उपचार गर्ने सोच बनाए ।
लागुपदार्थ दुव्र्यशनीको उपचार तथा पुनस्थापना केन्द्रमा दिगोपना र निरन्तरताको लागि उनले गोलभेडा खेती सुरु गरे । जहाँ उनले उपचार गर्न आउनेलाई उनीहरुको अवस्था अनुसार काममा लगाउन थाले ।
चार रोपनी क्षेत्रफलमा फैलिएको गोलभेडा खेतीबाट बार्षिक ४ लाख देखि ६ लाखसम्म आम्दानी हुन थाल्यो । उपचार गरेर फर्कनेहरुले यहाँबाट सिकेको सिप आफ्नो खेतबारीमा प्रयोग गर्ने गरेको उनी सुनाउँछन् ।
उनले आफ्नो यो अभियानमा एचआइभि संक्रमितलाई पनि सहयोग गर्न थाले । तिनका परिवारलाई खेतीमा सहयोग गरे । उनीहरुको लागि निशुल्क विउ र बेर्ना दिन थाल्यो । पोखरा र बुटवलसम्म पुगेर सहयोग गरे । ‘हामीले बिस्तारै आफ्नो दायरा बढाएको छौ,’ उनले भने, ‘ दुव्र्यसनीको उपचारसंगै एचआइभि संक्रमित र तिनका परिवारको सहयोगको लागि पनि खेतीलाई माध्यम बनाएका छौ ।’
सानो घेरामा रहेको यो अभियानलाई उनले ठूलो दायरामा फैलाउन चाहेका छन् । आगीमा बर्ष उनले थप केही जमिन भाडामा लिने योजना बनाएका छन् ।