केही दशकदेखि वैदेशिक रोजगार नेपाली संस्कृतिको एउटा पाटो झैं बनिसकेको छ। विदेशमा गएर कमाएको पैसाले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। स्वास्थ्य, शिक्षा आदिमा विपन्न र गरिब नेपालीको पनि पहुँच बढेको छ।
तर कतिपय भने यसको चर्को मूल्य चुकाउन बाध्य छन्। सन् २००० यता ११ हजार भन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा ज्यान गुमाएको तथ्यांकले देखाउँछ।
त्यसमध्ये करिब ४ हजार ५ सयले साउदी अरबमा ज्यान गुमाएका छन् भने ४ हजारले मलेसियामा। त्यस्तै कतारमा ज्यान गुमाउनेको संख्या भने करिब २ हजार छ।
ति कामदारको कसरी मृत्यु भयो भन्न गाह्रो छ। सम्बन्धित देशले दिएको जानकारी अनुसार धेरैको मृत्यु कार्डियाक एरेस्ट, आत्महत्या, कार्यस्थल दुर्घटना, सडक दुर्घटना लगायत कारणले भएको देखिन्छ। अरु कतिको प्राकृतिक कारणले मृत्यु भएको भनिएको छ भने केहीको हत्या भएको मृत्युपछि जारी मेडिकल रिपोर्टले देखाउँछ।
मृत्यु भएका धेरै परिवारले क्षतिपूर्ति तथा अन्य सहयोग पाएको देखिँदैन। वैदेशिक रोजगार प्रबर्द्धधन बोर्डका अनुसार २०६४÷०४÷०१ बाट २०७५÷०६÷२६ सम्म ६ हजार ९२० मृतक कामदारका परिवारले बोर्डबाट पाउने क्षतिपूर्ति पाएका छन्।
बोर्डले नेपाल सरकारको स्वीकृति लिएर वैधानिक ढंगले विदेश काम गर्न गएका मृतक कामदारका परिवारलाई मात्रै आर्थिक सहायता दिने गर्छ।
त्योभन्दा सम्वेदनशील कुरा के छ भने नेपाल वा गन्तव्य मुलुकका सरकारले कामदारको सुरक्षा तथा मृत्यु कम गर्न खासै पहल गरेको देखिँदैन।
कामदार पठाउने र कामदार लिने देश जिम्मेवार हुने हो भने सडक दुर्घटना, कार्यालय दुर्घटना र आत्महत्या जस्ता कारणले मर्नेको संख्यामा कमी आउने बताइन्छ।
खाडी र मलेसियाको विकासमा अनवरत खटिएका लाखौं नेपालीहरु इमान्दार ढंगबाट आ–आफ्नो जिम्मेवारी पुरा गर्दैछन्। उनीहरुको जिउज्यान र कुशलताको जिम्मेवारी कसले लिने?