राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको काम २०६३ सालबाट बाँकेमा निर्माणाधिन क्रममा छ। निर्माणको ६० प्रतिशत मात्र काम सम्पन्न हुँदा हालसम्म आयोजनाले झण्डै १५ अर्व रुपैयाँ खर्च गरिसकेको छ। आयोजनाले सुरुमा ४५.२५० किलो मिटर पश्चिम मुल मात्र निर्माण गरेर ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रमा सिचाई सुविधा पुर्याउने लक्ष्य राखेको थियो। दोस्रो गुरुयोजना पश्चात साढे ५३ किमी पूर्वी मुल नहर पनि निर्माण गरेर राप्तीपारीको ९ हजार हेक्टर क्षेत्र सिंचाई गर्ने लक्ष्यका साथ सरकारले सिक्टालाई वर्षेनी सवा अर्वबढी बजेट विनियोजन गर्दै आएको छ।
सिक्टाको सबै काम आगामी आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। आयोजना सम्पन्न हुँदासम्म सरकारले २५ अर्वभन्दा बढी रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ। सिक्टालाई सरकारले दिएको प्राथमिकता अनुसार प्रतिफल भने देखिएको छैन। सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकुलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समयदेखी छन्।
आयोजना कार्यालय अहिलेसम्म मुल नहर निर्माणको काममै अल्झिरहेको छ। आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि अन्यौलमा छ। दुई वर्षअघि अगैयास्थित हेड वर्क्समा जडान गरिएको १८ वटा गेट सिचाईका लागि उपयोगमा आउन सकेका छैनन्।
सिक्टाको पश्चिम मुल नहर निर्माणको काम सम्पन्न भएपनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ। साउन ७ गते बेलुका सिक्टाको पश्चिम मुल नहर परीक्षणका क्रममा ढकेरीस्थित चंगाई नाला छेउमा भत्किएर ठूलो क्षति पुर्यायो। यसअघि २०७३ असार १४ गतेपनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला छेउमा मुल नहर भत्किएको थियो। पटक पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथी प्रश्न उठेको छ। सिक्टा सिचाई आयोजना, सिचाई विभाग र मन्त्रालय जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्। भत्केको ठाउँमा आयोजना कार्यालयले हतार–हतारमा माटो ल्याएर पुरेको छ । यही माटो पनि वर्षाले बगाउन थालेको छ । मुल नहरको दर्जनौं ठाउँमा अझैपनि ठुल्ठुला खाडल परेर भत्किने अवस्थामा पुगेको छ। ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘आईसिबी–टु’ ठेक्का अन्तर्गत १७.७ किलोमिटरदेखी ३५ किलोमिटर सम्मको क्षेत्रमा घुलनशिल माटोका साथै कमसल निर्माण सामग्री प्रयोग भएका कारण समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन्।