चालिस बर्ष भन्दा बढी समय प्राध्यापन पेशामा संलग्न रहेका माधव आचार्य मुलतः सामाजिक अपराध शास्त्री हुन । समाजमा हुने हरेक अपराधको विषयमा सुक्ष्म विश्लेषण र अनुसन्धान गर्ने आचार्यसँग नागरिक दैनिकका टपेन्द्र कार्कीले सामाजिक अपराध बढ्नुको कारण बारे गरेको कुराकानीका मुख्य मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ ।
समाजिक अपराध बढेको छ, कस्तो कस्तो अवस्थामा सामाजिक अपराध हुन्छ ?
समाजिक अपराधमा वृद्धि भएको सत्य हो । जनतामा चेतनाको स्तर वृद्धि भएका कारण पनि प्रहरीमा यस्ता उजुरी बढ्को छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारलाई हेर्ने हो भने सामाजिक अपराधको बृद्धिदर निकै बढेको छ ।
पहिले यौनसँग सम्बन्धीत घट्नाहरु आपसमै मिलाइने गरिन्थ्यो । अहिले सामाजिक चेतनास्तरमा बृद्धि भएका कारण प्रहरीमा उजुरी बढेको छ भने सञ्चारमाध्यममा पनि बढी समाचारहरु आउने गरेका छन् ।
यस्ता अपराध बढ्नु र प्रहरीमा उजुरी आउनुमा विविध कारणहरु रहेका छन् । जस्तो कि प्रहरीको निगरानी कम हुनले अपराध बढेको र शक्तिका आँडमा कानुन हातमा लिन सकिन्छ भन्ने भयो भने अपराधीले प्रश्रया पाएको देखिन्छ ।
त्यस्तै कहिलेकाँही आवेश प्रेरित अपराध पनि हुने गरेको छ । प्रहरी प्रशासन फितलो छ, राजनीतिक नेतृत्व असफल भयो भने तथा कर्मचारी प्रशासन फेल भयो भने त्यस्तो अवस्थामा अपराध बढी हुन्छ । गरिबी, आर्थिक अभाव, यौनिक मनोविज्ञान जस्ता कुराले अपराधले प्रश्रय पाएको छ । अहिले देखिएका बलात्कार हत्या, एसिड हान्ने जस्ता जघन्य अपराध यसैको शृंखला हो ।
यौन अपराधमा बढ्नुको कारण के होला ?
सामाजिक अपराधमा यौन अपराध बढी हुने गरेका छन् । हाम्रो समाजमा यौन अपराधले प्रश्रय पाएको पनि देखिन्छ । तर यसलाई नियन्त्रण गर्न प्रशासन संयन्त्र कहिले सफल र कहिले असफल हुँदा प्रहरी प्रशासन विवादमा आउने गरेको छ । यौन हिंसा अहिलेको अवस्थामा इन्टरनेट वा सामाजिक सञ्जालका कारण पनि बढेको पाइन्छ,त्यसलाई मात्र दोष दिन मिल्दैन ।
सामाजिक संरचनाको अस्तव्यस्थतालाई हामीले ध्यान दिनुपर्छ । अहिले पनि हामी संक्रमणकालमा छौ जसका कारण यौनिक हिंसाहरु बढेका छन् । क्रान्तिका नाममा अलि छाडा हुन थाल्यौ । धर्मको आस्था पनि टुटे । सामाजिक संरचनाको स्वतः नियन्त्रण हुने अवस्था पनि रहेन ।
यो भन्दा अघि पनि यौनिक हिंसा हुन्थे तर केही घट्ना प्रशासनमा आउथे केही आउदैनथे । धेरैजसो आफन्तहरुबाटै यौनिक हिंसा हुने गरेका छन् त्यसकारण प्रसासनमै नआइकन मिलाइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन प्रायः सबै यौनिक हिंसा सम्बन्धी मुद्धाहरु प्रशासनमा आइपुगेका छन् यो राम्रो पक्ष हो ।
जाने बुझेकै मानिसबाट सामाजिक अपराध बढ्नुको कारण चाहि के होला ?
खासगरी यौन सम्बन्धी अपराधहरु यससँग जोडिन्छन् । यौनहिंसालाई सामाजिक अपराधको डरलाग्दो शृंखलाको रुपमा लिनुपर्छ । विशेष गरी जानेबुझेको मानिसहरु कसरी अपराधबाट बच्न सकिन्छ भन्ने उपाए निकालेर त्यसतर्फ आकर्षित हुन्छन र धेरै जसो आफूलाई कानुनभन्दा माथि राख्ने व्यक्तिहरु यौन हिंसामा संलग्न हुन्छन । म आफू उम्किन्छु वा आफूलाई कसैले पनि पक्राउ गर्न सक्दैनन भन्ने मनस्थिति बोकेको मानिस यस्ता गतिविधिमा बढी सक्रिय हुन्छन । बच्ने अवसर देख्नु भनेको नैतिकता ह्रास हुनु हो । कतिपय मानिसमा चेतनाको अभावले पनि अपराध गर्नसक्छ ।
यसमा के के कारणहरु जोडिएका होलान ?
सिलसिलेबर अपराधको कारण हुन्छन त्यसकै एकै कारण अपराध गर्यो होला भन्ने हुँदैन । लामो द्धन्दबाट आएका हामीले अपराधको विविध पक्षलाई नियाल्नु पर्ने हुन्छ । संक्रमणकालमै छौ त्यसले जे जति उथलपुल ल्यायो, कानुन भंग गर्ने, अलिअलि मनोमानी गर्ने, छाडापन देखाउने जस्ता विकृतिलाई मद्दत गर्यो । साथ साथै मानिसमा एक प्रकारको अहंमता पनि बढ्यो जसका कारण लामो समयसम्म संयमता अपनाउन सकिएन वा धैर्य गर्न नसक्दा र प्रतिशोधको भावाना पनि यससँगै जोडिएर आएका छन् ।
अवसरका कारण पनि अपराध बढ्छन भन्नु भयो कस्तो अवसरले अपराधलाई प्रश्रय दिएको हुन्छ ?
म पक्राउ पर्दिन वा प्रहरीलाई छल्न सक्छु भन्ने साहस जुटाउछ, त्यस्तो अवसर देख्छ त्यस्तो बेला अपराधीले अपराध गर्दछ । जहाँ कानुनबाट बच्न सक्दिन भन्ने लाग्यो भने वा प्रहरीको निगरानी बढ्यो भने त्यस्तो स्थानमा कित अपराधी पुग्दै पुग्दैन पुग्यो भने पनि अपराध नै हुदैन । समाजमा एउटै नैतिक चरित्र भएका व्यक्ति हुदैनन नैतिक चरित्र कमजोर भएका व्यक्तिहरु कानुन उल्लंघन गर्न हत्तारिन्छन ।
शक्तिको आडमा हुने अपराधलाईचाहि हामी के भन्छौ ?
शक्तिको आड भन्नाले राजनीतिक शक्ति हो । यो सबैभन्दा बलियो शक्ति भएकाले यसको आडमा अपराध हुने गरेका छन् । समाजमा बसेका प्रतिष्ठित व्यक्ति वा धनको शक्ति यिनको आडमा पनि अपराध हुने गरेको छ । यसको आडमा हुने अपराधचाहि सधै निमुखा, सुरक्षा विहिन तथा आर्थिक रुपले विपन्न भएकाहरुमाथि शोषण हुने गरेको यसलाई हामी समाजिक अपराध शृंखलाको उच्चतम विन्दु मान्न सक्छौ । यिनलाई नियन्त्रण गर्न राज्यको आवश्यकता परेको हो र कानुनका आधारमा सबै समान छन भन्ने कुरालाई स्थापित गर्न राज्यको आवश्यकता पर्छ । अपराधि मनोविज्ञानकै कारण कहिलेकाही यस्ता शक्तिहरु राज्यभन्दा पनि माथि भएको आभाष दिलाउन खोज्छन ।
पछिल्लो पटक चर्चामा रहेको बलात्कारपछि हत्या भएको घट्नालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
किशोरी वा महिला बलात्कारकैै घट्नाहरु किन हुन्छन यसमा सबैको चासो बढ्को छ । पहिले भन्दा अहिले बढी जानकारीमा आउन थालेका छन् । मास मिडिया वा इन्टरनेटमार्फत आउने यौन छाडा पनले पनि बलात्कार हुनुमा केही न केही योगदान गरेको छ । किशोर किशोरीको हातमा मोवाइल हुन्छ त्यो मोवाइलको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्ने, उमेर नपुगी भागर हिड्ने जस्ता विषय पहिले थिएनन । प्रविधिको सही प्रयोग हुनुपर्ने ठाउँमा दुरुपयोग हुन थाल्यो । त्यसकारण अपराधले प्रश्रय पाएको पाइन्छ । त्यस्तै किशोर किशोर क्षणिक मनोरन्जनमा रमाउदा र त्यसले भविष्यमा हुने जोखिमको आँकलन गर्न नसक्दा पनि यस्ता घट्नाहरु बढेका छन् । प्रहरीको अनुसन्धानलाई हेर्ने हो भने बलात्कारपछि हुने घट्ना धेरैजसो चिनेजानेका र नजिकका आफन्तहरुकै कारणबाट हुने गरेका छन् ।
त्यसो भए प्रविधिकै कारण अपराध बढेका हुन त ?
प्रविधि भनेको अवसर हो । विकासको महत्वपूर्ण पाटो हो । यसका राम्रा र नराम्रा दुवै पक्ष छन धेरै जसो राम्रा पक्ष छन तर कहिलेकाही प्रविधिको प्रयोग सही भएनकि भन्ने हो । जहाँसम्म इनरनेटबाट आउने अश्लिलतालाई रोक्न सकिदैन भने त्यो हेरेपछि मान्छेको भावानामा मनोविज्ञानमा कुप्रभाव पार्छ । खासगरी किशोर अल्लारे व्यक्तिहरु परिपक्व भैसकेका छैन त्यस्ता व्यक्तिहरु अवाञ्छित गतिविधिमा आकर्षित हुनसक्छन । यौनिक हिंसाका अपराध बढ्नुमा प्रविधि एउटा कारण हो ।
घरेलु हिंसाको तथ्यांक हेर्ने हो भने एक वर्षमा १२ हजार भन्दा बढी पीडित भएको पाइन्छ । यसमा यौनहिंसा मात्रै परेको छैन अन्य हिंसालाई पनि घरेलु हिंसाको रुपमा हेरिएको छ त्यसकारण यसमा कसरी प्रविधिलाई दोष दिन मिल्ला र ?
मैले अघि नै भने यौन हिंसामा प्रविधिको धेर थोर प्रभाव रहेको छ । घरेलु हिंसा भन्नाले कुटपीट, अमर्यादित व्यवहार, यौनहिंसा यी सबै पर्दछन यसमा धेरैजसो पीडित महिला नै हुने गरेका छन् । महिलाहरु आर्थिक रुपमा सक्षम नहुनु, शैक्षिक चेतनास्तर कमजोर हुनु, त्यो अवस्थामा यो हिंसा सहनयोग्य होइन । महिलामाथि पारिवारिक शोषण हुने हुँदा राज्यले सेक्टर हाउसको व्यवस्था गर्नुपर्छ जसका कारण उनीहरु सुरक्षित हुन सकुन । तर राज्यले कानुनी प्रकृया लैजादा कतिपय अवस्थामा प्रतिशोधको भावानाले त्यस्ता महिला झन बढी पीढित हुने अवस्था पनि आएको छ । महिलाहरु आर्थिक रुपमा सक्षम भएको स्थानमा घरेलु हिंसा कम हुने गरेका छन् । यस्तो हिंसा कम गराउन आर्थिक रुपमा सबल र शैक्षिक चेतनाको स्तरमा बृद्धि गरिनुपर्छ । जहाँ अल्पशिक्षा छ जहाँ आर्थिक परनिर्भता छ त्यहाँ जुनसुकै कारणले पनि हिंसा हुने गरेको छ अहिले कञ्चनपरकै घट्ना हेर्ने हो भने पनि त्यहाँकही न कही आर्थिक परनिर्भता र चेतनाको स्तर कमजोर भएको परिवारमाथि बज्रपात पारिएको छ ।
सेक्टर हाउसमा चाहि के कस्तो व्यवस्था हुन्छ ?
राज्यले तयार पारेको सेक्टर हाउस महिलाका लागि सुरक्षित मानिन्छ । यसमा राज्यले नै महिलालाई आर्थिक रुपमा सबल बनाउछ । शिक्षामा जोड दिइएको हुन्छ ।सचेतनामा राज्यको अग्रसता बढी हुन्छ । तिमी सीप सिक र आर्थिक रुपमा सबल बन भनिएको हुन्छ । विवाहित महिलालाई सम्बन्ध विच्छेदका क्रममा अंशलाई भन्दा उनलाई शिक्षा र सीपलाई जोड दिनुपर्छ । अंशका कारण पनि प्रतिशोधले अपराध बढाएको पनि छ । त्यसकारण यस्ता सेक्टर हाउसको निर्माण आवश्यक छ ।
शुरुमा सहमतिमै शारीरिक सम्पर्क गर्ने र असमझदारी बढेपछि बलात्कार हुने जस्ता विषयमा चाहि यहाँको के धारणा छ ?
यसलाई मैले दुई तीन तरीकाले हेर्ने गरेको छु । पहिले जस्ता असुरक्षित हुने महशुस कसैले पनि गरेका छैनन, डान्सबारमा जान्छन, विदेश जान्छन , सबै क्षेत्रमा सुरक्षित महशुस गर्छन त्यसकारण शुरुमा सहमतिमै शारीरिक सम्पर्क गर्छन पछि असमझदारी बढेपछि बलात्कारको अभियोगमा पैसाको बार्गेनिङ कसैले छुटकारा लिन्छन कसैले प्रहरीको मा उजुरी गरेर फसाइदिन्छन यो क्रम बढिरहेकै छ । मानिसको सोचाई र भविष्यप्रति चिन्तित हुने अवस्थामा परिवर्तन हुनु आवश्यक छ ।
सामाजिक अपराधको मूख्य कारण आर्थिक अभाव हो भन्न सकिन्छ ?
त्यतिमात्रै होइन , धेरैवटा मात्र एउटा हो । त्यसबाहेक कमजोर प्रहरी प्रशासन हो, कमजोर न्याय प्रणाली पनि हो । कुसँगतका कारण पनि अपराध हुन्छ । साथसाथमा अश्लिल सामाग्रीहरुको कारणले पनि अपराध बढाउछ ।
समाजिक अपराधबाट समाजमा पर्ने असरचाहि के हो ?
जबसम्म मानिसहरुले न्यायपाए भन्ने अवस्थाको महशुस गर्देनन त्यहाँ कानुनमा विश्वासको अभाव रहन्छ । कानुनमा आस्था नहुनु भनेकै व्यत्तिगत रुपमा बद्लाको भावाना बढ्नु हो । यसबाट हिंसात्मक प्रवत्ति बढ्नु हो । कानुनमा विश्वास हुँदासम्म मानिसले त्यसैमा ध्यान दिन्छ कानुुन मान्छ, नैतिकवान हुन्छ । जब अविश्वास बढ्छ त्यहाँ सामाजिक संरचनानै खल्बलिने गरी अपराध हुन्छ ।
कुन कुन उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुन्छ ?
१६ देखि २५ बर्ष उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुने गरेको छ । त्यसमाथिका मानिसहरुबाट अपराध हुदैन भन्ने होइन । १६ देखि २५ बर्षको उमेर समूह भनेको निकै चञ्चले र अपरिपक्व समय हो यसबेला मानिसका मनमा विभिन्न खाले संवेगहरु उत्पन्न हुने गर्छन ।
कानुनी कारवाहीको दायरा फराकिलो नभएको हो कि ?
प्रहरी प्रशासनले भ्याएसम्म कारवाही गरेको छ । सबै स्थानमा प्रहरीको उपस्थिति हुन सक्दैन प्रहरीलाई जनताले सहयोग गर्नुपर्छ । अपराध नियन्त्रणका लागि प्रहरी पनि कर्तव्यनिष्ठ हुनुपर्छ । प्रहरीले वैज्ञानिक उपकरणको माध्यमबाट अनुसन्धान गर्नुपर्छ । प्रहरीका परेका उजुरीलाई निष्ठापूर्वक अनुसन्धान गरे विवाद आउदैन । प्रहरीले कारवाही नै गरेको छैन भन्नेचाहि होइन । प्रहरीलाई स्वतन्त्रापूर्वक अनुसन्धान गर्न दिनुपर्छ । उनीहरुलाई राजनीतिक प्रभाव र दवाब राख्नु हुदैन । राजनीतिको आडमा हुने अपराधलाई निस्तेज पार्न प्रहरी मात्रै लागेर हुदैन राजनीतिक दलका नेताहरु स्वंय अग्रसर हुनु जरुरी छ ।
त्यसो भए राजनीतिक दलले पनि अपराधीलाई संरक्षण गरेका छन ?
अबश्य हो । राजनीतिक दलहरुले भ्रष्टचारीलाई संरक्षण गर्नु, अपराध गरिसकेको व्यक्तिलाई संरक्षण गर्नु अझ चुनावमा टिकटनै दिएर उम्मेदवार बनाउनु जस्ता गल्ती राजनीतिक दलहरुले गरेका छन् । प्रहरी प्रशासन पछि लागेपछि राजनीतिक दलमा प्रवेश गरेर संरक्षण लिने र दिने गरिएको छ यसबाट राजनीतिलाई दुषित बनाइयो । कसुरदारलाई संरक्षण गर्ने पार्टी अपराधीको मतियार हो ।अपराधीलाई संरक्षण गर्ने नेताहरु अपराधीको मतियार हुन । प्रहरीको मनोबल उच्च बनाइदिनुको सट्टा नेताहरुको दबाब दिने गरिएको छ । त्यसकारण प्रहरीको संयन्त्र चुस्त दुरुस्त बनाइनु पर्छ । प्रहरीको साधान स्रोत सम्पन्न बनाउनु गर्नुपर्छ । राजनीतिक दबाब आयो भने प्रहरीले त्यसको रेकर्ड राखेर अपराधीलाई संरक्षण गर्ने नेता र दलको बारेमा सार्वजनिक गर्नुपर्छ । त्यसपछि यस्ता समाजिक अपराधहरु नियन्त्रण हुदै जान्छन ।