मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न नसक्ने अवस्था आउनु नै मस्तिष्कघात हो।
नियमित ब्यायाम नगर्दा, खानपानमा उचित ध्यान नदिँदा, वातावरणीय प्रतिकुलता हुँदा र बंशाणुगत कारणले मस्तिष्कघात हुने गर्छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका नसा रोग विभाग प्रमुख डा. रागेश कर्णका अनुसार दैनिक रुपमा टेबलवर्क गर्ने, ब्यायाम नगर्ने, मदिरा र चुरोट सेवन गर्ने मानिसहरु मस्तिष्कघातको उच्च जोखिममा हुन्छन्।
उनका अनुसार काठमाडौ उपत्यकामा बस्ने मानिसले प्रत्यक्ष धूम्रपान नगरेपनि दैनिक दुइवटा चुरोटबाट निस्कने धुवाँ वराबरको धुलो ग्रहण गरिरहेका हुन्छन।
अरुले गरेको धुम्रपानको असर भोग्ने प्यासिभ स्मोकर र धुलो धुवाँले प्रभावित काठमाडौ उपत्यकामा हरेक मान्छे मस्तिष्कघातको जोखिममा रहन्छन।
‘काठमाडौ उपत्यकामा धुलो धुँवा अत्याधिक छ, धुम्रपान गर्ने र प्यासिभ स्मोकरको संख्या पनि दिनानुदिन बढ्दैछ जसले मस्तिष्कघातको खतरा पनि बढिरहेको छ,’ उनले भने।
विश्वभरमा प्रत्येक ६ मानिसमध्ये १ जनालाई जीवनकालमा एकपटक मस्तिष्कघात हुने गर्छ। विश्वस्थास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक बर्ष डेढ करोड मानिस मस्तिष्कघातको सिकार हुने र ५८ लाख मानिसको ज्यानै जाने गरेको छ।